धनकुटामा बस पल्टियो, ११ यात्रु घाइते


धनकुटा-  कोशी राजमार्गअन्तर्गत धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित मूलघाट नजिक शुक्रबार भएको दुर्घटनामा संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस सडकमा पल्टिएको हो।

प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाका बेला बसमा १५ जना यात्रु सवार रहेका थिए।

धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा पठाइएको जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध बनेको कोशी राजमार्गको धनकुटा–मूलघाट सडकखण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया