परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन जाँदै


काठमाडौं –  परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गर्ने भएका छन्। नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य र लगानी प्रवर्द्धनका विषयमा केन्द्रित रहने उनको भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने, पारस्परिक हितका विषयमा सहकार्य विस्तार गर्ने तथा दुई देशबीचका विविध मुद्दामा छलफल हुने जनाइएको छ।

मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, पूर्वाधार, व्यापार तथा लगानीका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

भ्रमण अवधिमा उनले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत सहभागिता जनाउनेछन्। सम्मेलनमा उनले नेपालमा वैदेशिक लगानीका अवसरबारे चिनियाँ व्यवसायी समुदायलाई जानकारी गराउँदै लगानी आकर्षित गर्ने प्रयास गर्नेछन्।

त्यसैगरी, नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी भई मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया