
सासू-ससुराको सेवा गर्दै आएका ८० बुहारी सम्मानित
अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ ८० जना असल बुहारीलाई सम्मान गरेको छ। पछिल्लो समय वृद्ध बुबाआमाको स्याहारसुसार गर्ने परम्परा कमजोर बन्दै गएको अवस्थामा परिवारभित्र ज्येष्ठ नागरिकको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदरस्वरूप नगरपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको हो।
नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार घरमै बसेर सासू–ससुराको निरन्तर हेरचाह गर्दै आएका बुहारीहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
नगरपालिकाका १२ वटै वडाबाट छनोट गरिएका, ८५ देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको नियमित हेरचाहमा संलग्न ८० जना बुहारीलाई औपचारिक कार्यक्रममार्फत सम्मान गरिएको छ।
नगरपालिकाले वडा कार्यालयको सिफारिसका आधारमा उनीहरूलाई छनोट गरेको जनाएको छ। दैनिक रूपमा ज्येष्ठ नागरिकको स्याहारसुसार, दिसापिसाबमा सहयोग, खानपानको व्यवस्था, समयमा औषधि खुवाउने तथा अन्य आवश्यक हेरचाह गर्दै आएका बुहारीहरूलाई सम्मान गरिएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारले घरमै रहेर निरन्तर सेवा दिइरहेका बुहारीहरूको योगदानलाई पहिचान गर्दै सम्मान गरिएको बताइन्।



कागजपत्र |
