असार मसान्तभित्र संसद्‌मा पठाइने विधेयकको सूची माग्दै सरकार


काठमाडौं-  सरकारले आगामी असार मसान्तभित्र संघीय संसद्‌मा दर्ता गर्ने विधेयकहरूको सूची तयार पार्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबै मन्त्रालयका सचिवसँग प्रस्तावित विधेयकहरूको सूची माग्दै छलफल सुरु गरेको छ।

कानुन सचिव पारास्वर ढुंगानाका अनुसार असार मसान्तभित्र संसद्‌मा पठाइने विधेयकहरूको प्राथमिकता निर्धारण गर्न मन्त्रालयहरूसँग चरणबद्ध छलफल भइरहेको छ। उनले सबै सचिवहरूलाई चाँडोभन्दा चाँडो आफ्नो मन्त्रालयअन्तर्गतका विधेयकहरूको सूची पठाउन आग्रह गरिएको जानकारी दिए।

कानुन मन्त्रालयले बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री र सचिवहरूसँग छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय गरेको छ।

छलफलका क्रममा सम्बन्धित मन्त्रालयले तयार गरिरहेका विधेयकहरूको अवस्था, प्राथमिकता तथा संसद्‌मा प्रस्तुत गर्ने तयारीबारे ‘ब्रिफिङ’ लिइने मन्त्रालयले जनाएको छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार प्रत्येक वर्ष असार मसान्तभित्र संघीय संसद्‌मा पेस गरिने विधेयकहरूको प्राथमिकतासहितको सूची तयार गर्नुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार सम्बन्धित मन्त्रालयहरूले वार्षिक कार्यतालिकाका रूपमा प्रस्तावित विधेयकहरूको विवरण कानुन मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ।

प्रतिक्रिया