
नवलपरासीमा बंगुरको मासु खाएपछि १६ जना बिरामी
नवलपरासी (पूर्व) – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१४ हेगौलीमा सामूहिक भोजपछि बंगुरको मासु खाएर १६ जना बिरामी परेका छन्।
प्राप्त जानकारीअनुसार जेठ २३ गते हेगौलीका १०५ घरधुरीका स्थानीयवासीले बंगुर काटेर सामूहिक भोज खाएका थिए। भोजपछि वर्ष ४४ की रामकुमारी महतोसहित १६ जनामा ज्वरो आउने, बान्ता हुने तथा पखाला लाग्ने समस्या देखिएको हो।
स्वास्थ्य समस्या देखिएपछि स्थानीय प्रहरीको सहयोगमा बिरामीहरूलाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा लगिएको छ। अस्पतालमा उनीहरूको उपचार भइरहेको जनाइएको छ।
प्रारम्भिक रूपमा खाद्यजन्य संक्रमण वा विषाक्तताको आशंका गरिए पनि बिरामी हुने कारणबारे यकिन हुन बाँकी रहेको छ। स्वास्थ्यकर्मीहरूले बिरामीहरूको स्वास्थ्य अवस्था निगरानीमा राखेर उपचार गरिरहेका छन्।
घटनाबारे थप अनुसन्धान तथा स्वास्थ्य परीक्षणको काम जारी रहेको सम्बन्धित निकायले जनाएको छ।



कागजपत्र |
