
बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं- बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ निवासी ४७ वर्षीय राजु मिजार रहेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा बैंकिङ कसुरका १२ वटा तथा चेक अनादरका दुई वटा मुद्दामा कैद र जरिवानाको फैसला भएको थियो। अदालतको फैसला कार्यान्वयनबाट फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मिजारलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
