म्यानमारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने


याङ्गुन – म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ। देशभरका विभिन्‍न बन्दीगृहमा रहेकामध्ये कूल २३ हजारभन्दा बढीलाई नयाँ वर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो।

लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौं आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौं बन्दीहरुमध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्।

म्यानमारमा परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ वर्षको अवसरमा कैदी बन्दीहरुलाई आममाफी दिने चलनअनुसार नै यस पटक बन्दीहरुलाई रिहा गर्न लागिएको हो।

गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौं गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन्। त्यसैगरी ७०० भन्दा बढीको मृत्यु भएको जनाइएको छ।

मृत्यु भएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीहरुको भनाइ छ।

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीले अझै पनि नियन्त्रणमा लिएको पनि राष्ट्रसंघको तथ्याङ्‍कमा उल्लेख छ। हिंसा रोक्न र शान्तिको बाटो रोज्‍न राष्ट्रसंघलगायतका धेरै निकाय र मुलुकहरुले पटक(पटक आग्रह गरे पनि म्यानमारमा हिंसात्मक घटनाहरु भइरहेको छ।

पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ। तत्कालीन नयाँ संसद्‍को पहिलो बैठक बस्‍ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरुलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।

प्रतिक्रिया