घर बिदामा आएका श्रमिकले पुनः स्वीकृति लिन लामो प्रक्रिया बेहोर्नु नपर्ने


काठमाडौं – वैदेशिक रोजगारीबाट बिदामा घर आएका श्रमिकले अब पुनः श्रम स्वीकृति लिन लामो प्रक्रिया र झन्झट बेहोर्नु नपर्ने भएको छ।

अब बिदामा नेपाल आएका र पुनः सोही देश तथा कम्पनीमा फर्किन चाहने श्रमिकले आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिएमा स्वचालित रूपमा पुनः श्रम स्वीकृति प्राप्त गर्नेछन्।

यसका लागि श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीकै लागि पुनः श्रम स्वीकृतिको आवेदन दिनुपर्नेछ। साथै, पासपोर्टको अवधि कम्तीमा तीन महिना बाँकी हुनुपर्ने र श्रमिकसँग वैध (भ्यालिड) भिसा हुनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी सम्बन्धित कम्पनीसँगको करार सम्झौता कायम रहेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गरेको हुनुपर्ने तथा वैदेशिक रोजगार बीमा गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम बुझाएको रसिदसमेत पेश गर्नुपर्नेछ।

यी सबै प्रक्रिया पूरा गरेर आवेदन दिएपछि पुनः श्रम स्वीकृति स्वतः जारी हुने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थासँगै श्रमिकले पहिलेझैँ टोकन लिनुपर्ने, टोकनको मितिमा प्रक्रिया पूरा नभए फेरि आवेदन दिनुपर्ने तथा श्रम स्वीकृति प्राप्त गर्न लामो समय कुर्नुपर्ने बाध्यता हटेको छ।

पुनः श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत गर्न सकिने भएकाले सेवाग्राहीलाई कार्यालयमै पुग्नुपर्ने झन्झटसमेत नहुने भएको छ।

प्रतिक्रिया