
वीरगति प्राप्त शान्ति सैनिकको सम्मान गर्दै मनाइयो शान्ति सेना दिवस
काठमाडौं । नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न मिसनमा खटिएका शान्ति सैनिकहरूको योगदानको सम्मान गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।
दिवसको अवसरमा सोमबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा विशेष समारोह आयोजना गरिएको थियो।
कार्यक्रममा विश्व शान्ति स्थापनाका क्रममा वीरगति प्राप्त गरेका शान्ति सैनिकहरूको सम्झनामा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो। साथै, दुई जना सहिद शान्ति सैनिकका परिवार र पाँच जना उत्कृष्ट शान्ति सैनिकलाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्वव्यापी शान्ति र स्थायित्वका लागि नेपाली सेना निरन्तर समर्पित रहेको बताए। उनले जटिल र चुनौतीपूर्ण वातावरणमा कार्यरत शान्ति सैनिकहरूले अनुशासन, इमानदारी र समर्पणको उच्च स्तर कायम राख्दै आएको उल्लेख गरे।
प्रधानसेनापति सिग्देलले शान्ति मिसनमा खटिने सैनिकहरूलाई बहुआयामिक चुनौतीहरूको सामना गर्न आवश्यक अनुशासन र व्यावसायिकताको मार्गमा अघि बढ्न प्रेरित गरिने पनि बताए।
नेपाली सेनाका अनुसार हाल नेपालले विश्वका विभिन्न संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा चार हजार १७९ शान्ति सैनिक तैनाथ गरेको छ। यससँगै नेपाल शान्ति सेनामा योगदान गर्ने अग्रणी राष्ट्रहरूमध्ये एकका रूपमा स्थापित रहेको सेनाले जनाएको छ।



कागजपत्र |
