
सुकुम्वासीको ज्यान बचाउन स्थानान्तरण गरिएको हो : प्रधानमन्त्री शाह
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका काठमाडौं उपत्यकाका सुकुम्वासीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यले खोला किनारका बस्ती हटाइएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले खोला किनारका बस्तीहरू बाढी तथा अन्य प्राकृतिक जोखिमको उच्च सम्भावनामा रहेको उल्लेख गर्दै त्यहाँ बसोबास गर्ने नागरिकको सुरक्षाका लागि स्थानान्तरण गरिएको बताए।
“खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसेकाले काठमाडौं उपत्यकाका सुकुम्वासीलाई अर्को ठाउँमा सार्ने काम गरिएको हो। चार वर्षअघि नै म स्थानीय सरकारमा हुँदा संघीय सरकारलाई यसबारे जानकारी गराएको थिएँ,” प्रधानमन्त्री शाहले भने।
उनले जग्गाविहीन नागरिकलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखी पछि जग्गा उपलब्ध गराउने योजना रहेको जानकारी दिए। “एक धुर पनि जग्गा नभएकाहरूलाई होल्डिङ सेन्टरमा राखेर अब जग्गा दिन्छौँ,” उनले भने।
प्रधानमन्त्री शाहका अनुसार विगतका वर्षहरूमा बाढी आउँदा खोला किनारका बस्तीमा बस्ने नागरिकले ठूलो समस्या भोग्दै आएका थिए। साथै, ती बस्तीबाट सिधै खोलामा ढल र शौचालयको फोहोर मिसिने गरेको उनले बताए।
“खोला पनि अत्यन्त फोहोर भएको थियो। सरकारले सुकुम्वासीको ज्यान बचाउने काम गरेको हो। हटाइएका सुकुम्वासीका लागि जग्गा व्यवस्थापन गरिन्छ। त्यसका लागि भूमिसम्बन्धी समिति पनि गठन भइसकेको छ,” उनले भने।
सुकुम्वासी व्यवस्थापनको विषयमा आलोचना गर्नेहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले दशकौँदेखि समाधान हुन नसकेको समस्या तत्काल समाधान हुने अपेक्षा नगर्न आग्रह गरे।
“३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखोजौँ। सुकुम्वासी व्यवस्थापनको काम भइरहेको छ र हामी यसलाई समय लिएर टुंग्याउँछौँ,” उनले भने।
यसै क्रममा प्रधानमन्त्री शाहले सहकारी क्षेत्रको समस्या समाधानका लागि पनि सरकारले काम गरिरहेको बताए। उनका अनुसार सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिएको छ र सहकारी क्षेत्रबाटै स्रोत व्यवस्थापन गरेर रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।



कागजपत्र |
