

आफ्नै साथीहरुबाट गलत हर्कत भयोः यामलाल कँडेल

काठमाडौं – कर्णालीका नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले आफ्नै साथीहरुबाट गलत हर्कत भएको बताएका छन्। पार्टीका जिम्मेवार नेताहरुले राजनीतिक अपराधको पराकाष्टा प्रस्तुत गरेको कँडेलको भनाइ छ।
शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्नुअघिसम्म एमाले संसदीय दलका नेता कँडेल पारित नहुनेमा ढुक्क थिए। तर, उनले नसोचेको मत परिणाम आयो।
नेकपा एमालेका चार जा सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाइदिएका छन्। कर्णाली सरकारले विश्वासको मत लिएपछि कँडेल आफ्नो पार्टीबाट ‘फ्लोर क्रस’ गर्ने सांसदहरुप्रति आक्रोशित भएका छन्।
कँडेलले भने, ‘यस्तो होला भन्ने सोचिएको थिएन। हाम्रा साथीहरूबाट गलत काम भयो। यो राजनीतिक अपराध हो। हामी पार्टीको अब विधानअनुसार चल्नेछौं।’
कँडेललाई पछिल्लो समय भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिएको थियो। एमालेका चार सांसदहरुले ‘फ्लोर क्रस’ गरेपछि शाहीको सरकारले बहुमत पाएको छ।

