
भक्तपुरमा नक्कली दूध उत्पादन, उद्योगमा छापा
काठमाडौं- पछिल्लो समय नेपालमा प्राकृतिक दूधको सट्टा कृत्रिम पदार्थ मिसाएर ‘नक्कली दूध’ तयार गरी बजारमा बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित एक दुग्ध उद्योगमा गरेको अनुगमनका क्रममा दूधमा मिसावट गर्न प्रयोग हुने शंकास्पद पदार्थ फेला परेपछि ठूलो परिमाणमा दूध सिलबन्दी गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका–९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उद्योगको प्रशोधन कक्षबाट ९.८६ किलोग्राम माल्टोडेक्सट्रिन, ५६ किलो डेक्सट्रोज मोनोहाइड्रेट र ३० किलो बेकरी सर्टेनिङ बरामद गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार यस्ता पदार्थको मिश्रणबाट नक्कली दूध तयार गरी उक्त उद्योगले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित विभिन्न बजारमा दूध आपूर्ति गर्दै आएको आशंका गरिएको छ ।
डीडीसीले लामो समयदेखि उक्त उद्योगबाट परीक्षणबिनै दूध खरिद गर्दै आएको तथ्य पनि बाहिरिएको छ । यस प्रकरणमा डीडीसीका केही कर्मचारीको मिलेमतो हुनसक्ने आशंका समेत गरिएको छ ।
विभागका प्रवक्ता बालकुमारी शर्माका अनुसार उद्योगभित्र चिलिङ भ्याटमा भण्डारण गरिएको दूध र शंकास्पद चिल्लो पदार्थका नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ ।
अनुगमनपछि तीनवटै चिलिङ भ्याटमा रहेको दूध र शंकास्पद पदार्थलाई अर्को आदेश नभएसम्मका लागि सिलबन्दी गरिएको छ । साथै उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
खाद्य विज्ञहरूका अनुसार यस्ता पदार्थहरू सामान्यतया खाद्य उद्योगमा कानुनी रूपमा प्रयोग गर्न सकिने भए पनि दूधमा गैरकानुनी रूपमा मिसाइएमा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
विशेषज्ञका अनुसार माल्टोडेक्सट्रिनले रगतमा चिनीको मात्रा बढाउन सक्छ भने डेक्सट्रोज मोनोहाइड्रेटले ग्लुकोजको स्तर तीव्र रूपमा बढाउँछ । त्यस्तै बेकरी सर्टेनिङमा रहेको ट्रान्स फ्याटले मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढाउने भएकाले सबैभन्दा हानिकारक मानिन्छ ।
खाद्य विज्ञहरूले यी पदार्थ दूधको गाढापन, चिल्लोपन र टेक्सचर कृत्रिम रूपमा बढाउन प्रयोग हुने बताएका छन् ।
माल्टोडेक्सट्रिन मकै, आलु, चामल वा गहुँको स्टार्चबाट बनाइने कार्बोहाइड्रेट हो, जसलाई प्रशोधित खाद्य पदार्थमा सस्तो ‘बल्किङ एजेन्ट’का रूपमा प्रयोग गरिन्छ ।
डेक्सट्रोज मोनोहाइड्रेट ग्लुकोजकै एक रूप हो, जसले तुरुन्त ऊर्जा र मिठास प्रदान गर्छ । अत्यधिक सेवनले मधुमेह, मोटोपना र दाँतसम्बन्धी समस्या बढाउन सक्ने चिकित्सकहरूको भनाइ छ ।
बेकरी सर्टेनिङ भने वनस्पति तेललाई प्रशोधन गरी बनाइने बोसो हो, जसमा ट्रान्स फ्याटको मात्रा उच्च हुने भएकाले विश्व स्वास्थ्य संगठनले यसलाई जोखिमयुक्त मानेको छ ।



कागजपत्र |
