तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय युवक मृत फेला


बुटवल – पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको सिद्धार्थनगर जिल्लाको नौगढ गाउँ निवासी अन्दाजी २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन् ।

उनी साथीहरूसँग घुम्न आएका बेला बुधबार साँझ करिब ६ः३० बजे ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनापछि प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले रातभर खोजतलास गरेको थियो ।

प्रहरीका अनुसार आज घटनास्थलदेखि करिब ५० मिटर दक्षिणतर्फ तिनाउ नदीको ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा रस्तोगीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भिमलाल भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया