अछाममा बोलेरो जिप दुर्घटना


अछाम-  अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ निवासी चालक टेकेन्द्र रावत घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

त्यस्तै बाजुराको बुढीगंगा नगरपालिका–५ की ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ । सोही ठाउँका ५३ वर्षीय नृप खातीको दाहिने हात र बाँया आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।

बुढीगंगा नगरपालिका–९ की ३४ वर्षीया उज्जला सेरेलाको बाँया खुट्टामा चोट लागेको छ भने ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेर उनी बेहोस अवस्थामा रहेको जनाइएको छ ।

घाइते सबैलाई इलाका प्रहरी कार्यालय साँफेबगरको गाडीमार्फत बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायब निरीक्षक देवेन्द्र कुँवरको कमाण्डमा आठ जनाको टोली घटनास्थलमा खटिएको थियो । जिप सडकबाट तल खसे पनि अन्य सवारी आवागमन भने प्रभावित नभएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया