
विवाहको प्रलोभनमा करणी गर्ने युवकलाई ७ वर्ष कैद
जनकपुरधाम- सप्तरीमा विवाहको प्रलोभन देखाएर युवतीमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई अदालतले सात वर्ष कैद सजाय सुनाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले महादेवा गाउँपालिका–४ डाढा टोलका २१ वर्षीय अजय कुमार साहलाई सात वर्ष कैद र पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।
गत फागुनमै फैसला सुनाइएको भए पनि फैसलाको पूर्णपाठ हाल सार्वजनिक भएको छ । अदालतमा २०८२ वैशाख ११ गते दर्ता भएको मुद्दामा सातौँ पेशीमा फागुन १७ गते फैसला भएको थियो ।
पीडितका अभिभावकले दिएको जाहेरीअनुसार साहले विवाह गर्ने प्रलोभन देखाएर २०८१ चैत ८ गते साँझ युवतीलाई आफ्नै घरमा बोलाएका थिए । त्यसपछि रातिको समयमा इच्छा विपरीत पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाइएको थियो ।
अनुसन्धानका क्रममा अभियुक्त साहले आफू र पीडितबीच टिकटकमार्फत चिनजान भएको, प्रेम सम्बन्ध विकसित भएको तथा विवाह गर्ने सहमतिसमेत भएको बताएका थिए । उनले पीडितकै सहमतिमा शारीरिक सम्बन्ध भएको दाबी गरेका थिए ।
तर पीडितले भने फोन गरेर बोलाई जबरजस्ती करणी गरिएको बयान दिएकी छन् । आफू रोईकराई गर्दा साहले विवाह गर्ने आश्वासन दिँदै फकाएको र त्यसपछि घटनास्थलमै छोडेर फरार भएको उनले बताएकी छन् ।
अदालतमा साहले जाहेरवालालाई नचिनेको तर टिकटकमार्फत पीडितसँग चिनजान भएको स्वीकार गरेका थिए । उनले आफूले जबरजस्ती करणी नगरेको भन्दै इन्कारी बयान दिएका थिए ।
यद्यपि अनुसन्धानका क्रममा अभियुक्तले विवाह गर्छु भन्दै पीडितसँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा परीक्षण गर्ने विशेषज्ञ चिकित्सकको बकपत्रबाट जबरजस्ती करणी भएको पुष्टि भएकाले अभियुक्त दोषी ठहर भएको अदालतले जनाएको छ ।



कागजपत्र |
