विदेश पठाइदिने नाममा ठगी : काठमाडौंका ९५ कन्सल्टेन्सीमा प्रहरी छापा, ६९ सञ्चालक पक्राउ


काठमाडौं-  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मार्दै ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

विदेश अध्ययनका लागि पठाइदिने भन्दै नेपाली नागरिकहरूलाई ठगी गरिएको उजुरी आएपछि प्रहरीले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीहरूमा एकसाथ कारबाही गरेको हो ।

प्रहरीका अनुसार छानबिनका क्रममा ती संस्थाहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा र भाषा शिक्षण निर्देशिका २०७३ मा तोकिएका मापदण्ड पालना नगरेको पाइएको छ ।

उनीहरूले कन्सल्टेन्सी दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको, सरकारबाट आवश्यक अनुमति नलिई शैक्षिक परामर्श, भाषा शिक्षण तथा पूर्वतयारी कक्षाहरू सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै उच्च शिक्षाका लागि विदेश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट आर्थिक ठगी गरिएको आरोप पनि उनीहरूमाथि लागेको छ ।

पक्राउ परेका ६९ जना सञ्चालकमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रहरीले यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेका पीडितहरूलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया