निगम सञ्चालक सदस्यमा ५ जना नियुक्त


काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदमा पाँच जनालाई नियुक्त गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई बिहिबार नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार ‘नेपाल वायुसेवा निगम ऐन, २०१९’ को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाबाट सञ्चालक सदस्य नियुक्तिका लागि गत वैशाख १२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। उक्त पदका लागि २७ जनाले रितपूर्वक आवेदन दिएका थिए।

आवेदन दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्ययोजनाको परीक्षण, प्रस्तुतिकरण र अन्तर्वार्तालगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी छनौट समितिले सिफारिस गरेका आधारमा मन्त्रीस्तरबाट वैशाख ३१ गते नियुक्तिको निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।

नियुक्त हुने सदस्यहरूमा डा. दिपक प्रसाद बास्तोला (पोखरा– ३०, कास्की), प्रविन भट्टराई (भरतपुर– २, चितवन), महेश्वर भक्त श्रेष्ठ (ललितपुर– १३, ललितपुर), रुपा लामिछाने (गोकर्णेश्वर– १, काठमाडौँ) र लिलाराज ढकाल (आँधीखोला– ६, स्याङ्जा) रहेका छन्।

मन्त्रालयले नियुक्त भएका सबै उम्मेदवारहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नियुक्ति पत्र बुझ्न र कार्यभार सम्हाल्नका लागि मन्त्रालयमा उपस्थित हुन सूचित गरेको छ।

प्रतिक्रिया