
प्रधानमन्त्री संसदमा नआउँदा अन्तर्राष्ट्रिय स्तरमा असर पर्न सक्छ : महावीर पुन
काठमाडौं – प्रतिनिधिसभाका सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसदमा उपस्थित नभएको विषय अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने प्रयास भइरहेको भए पनि उनी नआइरहेको बताए। उनले यो विषयलाई सामान्य रूपमा लिन नहुने धारणा राखे।
“भोलि अन्तर्राष्ट्रिय मिडियामा यो कुरा गयो भने के होला ? त्यो पनि सोच्नुपर्छ,” उनले भने।
सांसद पुनले प्रधानमन्त्री बालेन शाह अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चित व्यक्तित्व भएकाले संसदप्रति देखिएको बेवास्ताले उनको छविमा असर पर्न सक्ने टिप्पणी गरे।
त्यसैगरी उनले सरकारको नीति तथा कार्यक्रममा नवप्रवर्तनको विषय समेटिएको उल्लेख गर्दै त्यसका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरे। नवप्रवर्तनसम्बन्धी मन्त्रालय घोषणा गरिनु सकारात्मक भए पनि त्यसलाई प्रभावकारी बनाउन बजेट आवश्यक रहेको उनको भनाइ थियो।
पुनले पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत रकम नवप्रवर्तन क्षेत्रमा छुट्याउन सरकारलाई आग्रह गरे। उनले विभिन्न देशहरूले कुल बजेटको निश्चित हिस्सा ‘रिसर्च एण्ड डेभलपमेन्ट’ मा खर्च गर्ने अभ्यास रहेको उदाहरणसमेत प्रस्तुत गरे।



कागजपत्र |
