‘करेन्ट’, ‘लाली’ चाउचाउ र ‘ज्याक न्याक’ बिस्कुट बजारबाट फिर्ता गर्न विभागको आदेश


काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका केही चर्चित ब्रान्डका चाउचाउ र बिस्कुट गुणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक फेला परेपछि ती उत्पादन तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाको प्रयोगशाला परीक्षण गर्दा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको मापदण्डभन्दा बढी पाइएको जनाएको छ। यस्तो अवस्था स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विभागको भनाइ छ।

विभागका अनुसार रुपन्देहीको तिलोत्तमास्थित यशोदा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउ (ब्याच नम्बर ०४ ए) मापदण्डविपरीत फेला परेको हो। त्यस्तै, सोही उद्योगको ५० ग्रामको ‘लाली’ चाउचाउ (ब्याच नम्बर ०२ ए) पनि गुणस्तरहीन भेटिएको छ।

यसैगरी, सुनसरीको दुहबीस्थित एशियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिले उत्पादन गरेको ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुट (ब्याच नम्बर ६) समेत तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको विभागले जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) अनुसार विभागले सम्बन्धित कम्पनीहरूलाई ती ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको हो।

यस्तै, ऐनको उपदफा (४) बमोजिम अर्को सूचना जारी नभएसम्म ती सामग्रीको बिक्री वितरण रोक्न तथा बिक्री नगर्न–नगराउन पनि आदेश दिइएको विभागले जनाएको छ।

चाउचाउ र बिस्कुटजस्ता तयारी खाद्य सामग्रीको अत्यधिक प्रयोग हुने भएकाले यस्ता उत्पादनमा उच्च एसिड भ्यालु भेटिनु उपभोक्ताको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया