
वैदेशिक रोजगार ठगीमा रेड नोटिस जारी भएका सुवास यूएईबाट पक्राउ
काठमाडौं – वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती रहेका छन् । उनलाई एनसीबी अबुधाबी, यूएईको समन्वयमा संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी बिहीबार नेपाल ल्याइएको हो ।
नेपाल प्रहरीका अनुसार लावतीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर पीडितबाट विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामार्फत असुली गरी ठगी गरेका थिए ।
घटनापछि फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गतको इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँग समन्वय गरेको थियो । सोही अनुरोधका आधारमा २०८२ साउन २६ गते उनीविरुद्ध रेड नोटिस जारी गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।



कागजपत्र |
