विदेश पठाउने नाममा ३५ लाख ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ


काठमाडौं-  विदेशमा आकर्षक रोजगारी दिलाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भई हाल काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पाण्डेले विदेश पठाइदिने भन्दै १३ जना पीडितबाट करिब ३५ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

अनुसन्धानमा खुलेअनुसार उनले सर्विया र स्लोभाकिया लगायतका देशमा आकर्षक तलबको रोजगारीमा पठाइदिने आश्वासन दिँदै पीडितहरूबाट रकम असुलेका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पाण्डेलाई सोमबार काठमाडौँको नागार्जुन नगरपालिका–९ बाट पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका पाण्डेलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया