
ड्रोन र नाइटभिजन क्यामेराबाट अपराध नियन्त्रण गरिने
काठमाडौं- सरकारले आपराधिक गतिविधि नियन्त्रणका लागि ड्रोन तथा नाइटभिजन क्यामेराको प्रयोग गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा सुरक्षा तथा निगरानी प्रणालीलाई प्रविधिमैत्री बनाइने जानकारी दिएका हुन् ।
सरकारले सीमा नाकामा अनुहार पहिचान प्रणाली (फेस रिकग्निसन) स्थापना गर्ने योजना पनि अघि सारेको छ ।
त्यसैगरी, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली तथा स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक जनशक्ति, तालिम र पूर्वाधारसहित विशिष्टकृत सुरक्षा बलका रूपमा विकास गरिने सरकारको लक्ष्य छ । सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक र सुरक्षा निकायबीचको सम्बन्ध सुदृढ बनाइने पनि जनाइएको छ ।
सीमा विवादको समाधान कूटनीतिक संवादमार्फत खोजिने र राष्ट्रिय हित संरक्षणका लागि सुरक्षा नीति तथा कानुनलाई परिमार्जन गरिने उल्लेख गरिएको छ ।
यसैगरी सरकारले सुरक्षा क्षेत्रमा बाह्य निर्भरता घटाउने पनि घोषणा गरेको छ । नेपाली सेना लगायत सुरक्षा निकायका बन्दोबस्तीका सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने नीति सरकारले लिएको छ ।
सुरक्षा जनशक्तिको तालिम तथा रणनीतिक दक्षता विकास गर्दै व्यावसायिकता अभिवृद्धि गरिने र राष्ट्रिय सेवा दललाई थप सुदृढ बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
ठूला विकास आयोजनाको अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको मूल्याङ्कन अनिवार्य गर्ने व्यवस्था पनि सरकारले अघि सारेको छ ।



कागजपत्र |
