स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा सरकारले तोक्यो निमित्त जिम्मेवारी


काठमाडौं- सरकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ । स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार पूर्णकालीन नेतृत्व चयन नहुँदासम्म अत्यावश्यक काम नरोकियोस् भन्ने उद्देश्यले अल्पकालीन रूपमा निमित्त नियुक्ति गरिएको हो ।

मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. विनम्र विष्टलाई निमित्त जिम्मेवारी दिएको छ ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. इन्द्र लिम्बू, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डा. उमेश नेपाल तथा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह–प्रा.डा. रविन्द्रभक्त तिमलालाई जिम्मेवारी दिइएको छ ।

यस्तै स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य क्षेत्र सुधार तथा योग्य नेतृत्व चयनमा कुनै सम्झौता नगर्ने नीति अनुसार छिट्टै खुला प्रतिस्पर्धामार्फत मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ ।

हालै जारी सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण ती स्वास्थ्य निकायहरू नेतृत्वविहीन बनेपछि सेवा प्रवाह प्रभावित हुनसक्ने अवस्था देखिएको थियो । बिरामीको उपचार, दैनिक प्रशासनिक काम तथा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले तत्कालका लागि निमित्त प्रमुख तोकिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया