
वर्तमान सरकारमाथि गगन थापाको आरोप- ओली शैली दोहोरियो
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार ‘दुई–तिहाइको दम्भ र भ्रम’मा चलेको आरोप लगाएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूलाई प्रशिक्षण दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधानको परिधि नाघ्न खोजेको भन्दै त्यसलाई स्वीकार नगर्ने चेतावनी दिए।
थापाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तै अहिलेको सरकारले पनि ‘जे गरे पनि हुन्छ’ भन्ने गलत धारणा बनाएको बताए। “बहुमत हुँदैमा जस्तो पनि कानुन बनाउने र त्यसको दुरुपयोग गर्ने छुट सरकारलाई छैन,” उनले भने, “विधिको शासनभन्दा माथि कोही हुँदैन।”
उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत सरकारले प्रधानन्यायाधीश नियुक्तिमा जालझेल गर्न खोजेको आरोप लगाए। “संवैधानिक निकायमा सरकारको नियन्त्रण नहोस् भनेर परिषद्को व्यवस्था गरिएको हो, तर अहिले आफ्ना मान्छे भर्न अध्यादेशमार्फत कानुनसँग छेडखानी भइरहेको छ,” उनले भने, “खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने प्रपञ्च हामीलाई स्वीकार्य छैन।”
सभापति थापाले संसद् आह्वान र स्थगनको प्रक्रियासमेत संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्न प्रयोग गरिएको दाबी गरे। उनले वर्तमान प्रधानमन्त्रीको शैलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गर्दै ‘उही किसिमको जालझेल दोहोरिएको’ टिप्पणी गरे। “अघिल्ला प्रधानमन्त्रीले जस्तै अहिले पनि आफ्ना मान्छे नियुक्त गर्न प्रपञ्च रचिएको छ,” उनले भने।



कागजपत्र |
