
सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बमजनलाई सफाइ
काठमाडाैं – ‘लिटिल बुद्ध’का नामले परिचित रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि अदालतबाट सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते उक्त मुद्दामा सफाइ दिने फैसला गरेको हो।
बमजनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो। तर अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै अदालतले उनलाई दोषमुक्त गरेको हो। फैसलापछि उनी कारागार कार्यालय सर्लाहीबाट रिहा भइसकेको प्रहरीले जनाएको छ।
यसअघि उनलाई सोही कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। चितवनस्थित करिब ६४ लाख रुपैयाँ बराबरको जग्गा तथा बरामद नगदलाई आधार मानेर मुद्दा दायर गरिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामो अनुसन्धानपछि २०८० पुस २४ गते काठमाडौंबाट बमजनलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा उनीसँग विभिन्न १७ देशका करिब ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा र ३ करोड ३४ लाख रुपैयाँ नेपाली नगद बरामद भएको थियो।
यद्यपि, बमजनविरुद्धको बाल यौन दुरुपयोगसम्बन्धी मुद्दा भने अझै सर्वोच्च अदालतमा विचाराधीन छ। जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते उनलाई १० वर्ष कैद र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला सुनाएको थियो। तर उक्त फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८१ चैत ६ गते उनलाई सफाइ दिएको थियो।
सो फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गरेपछि हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।



कागजपत्र |
