
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो नखिच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र पूर्वस्वीकृति बिना फोटो तथा भिडियो नखिच्न र त्यस्ता सामग्री प्रकाशन–प्रसारण नगर्न आग्रह गरेको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको अनुमति बिना अस्पताल परिसरमा कुनै पनि प्रकारका दृश्य सामग्री संकलन नगर्न सचेत गराएको हो। मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार अनुमति बिना कसैको तस्बिर खिच्न नपाइने प्रावधान रहेको उल्लेख गर्दै मन्त्रालयले यस विषयमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
विज्ञप्तिअनुसार पछिल्लो समय केही व्यक्तिहरूले अस्पताल परिसरमा बिना स्वीकृति प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो–भिडियो खिच्ने, अन्तर्वार्ताका नाममा भीडभाड गर्ने तथा चिकित्सकको कार्यसम्पादनमा अवरोध पुर्याउने गुनासा बढेका छन्।
मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन गर्नुका साथै उपचार प्रक्रियामा प्रत्यक्ष असर पार्ने र संवेदनशील क्षेत्रमा असहज अवस्था सिर्जना गर्ने जोखिम बढाउँछ।
यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड वा अन्य गैरकानुनी गतिविधि नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ। अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीप्रति अमर्यादित व्यवहार गर्ने वा अनुचित दबाब दिने कार्य कानुनविपरीत हुने मन्त्रालयले स्पष्ट पारेको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार उपचारमा बाधा पुर्याउने, स्वास्थ्यकर्मीमाथि हातपात, धम्की वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको छ।
मन्त्रालयले यस्ता गैरकानुनी कार्यमा संलग्न पाइएमा कडा कारबाही गरिने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ।
साथै उपचारका क्रममा कुनै कमजोरी देखिएमा सम्बन्धित निकायमा उजुरी दिई तथ्यपरक छानबिनमार्फत समाधान खोज्न सकिने व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ।



कागजपत्र |
