
शेखर पक्षको निष्कर्ष- विशेष महाधिवेशन प्रक्रियाले पार्टी कमजोर बन्यो
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले विशेष महाधिवेशन प्रक्रियाले पार्टी एकता कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ।
बिहीबार काठमाडौंको बालुवाटारस्थित ओपेरा होटेलमा कोइराला समूहले पार्टी र समसामयिक राजनीतिक अवस्थाबारे धारणा निर्माणका लागि राय संकलन गर्ने उद्देश्यले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका थिए।
उक्त छलफलमा सहभागी नेताहरूले विशेष महाधिवेशन प्रक्रियाले आन्तरिक एकतामा चुनौती सिर्जना गरेको धारणा व्यक्त गरेका छन्।
यसैगरी छलफलमा सहभागीहरूले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान पनि राखेका छन् । ‘अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक छैन । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन सकेको छैन। एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति कै हो,’ छलफलमा सहभागी एक नेताले भने ।
त्यस्तै, केही नेताहरूले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने जिम्मेवारी नेतृत्व तहमा रहेको उल्लेख गर्दै सभापति गगन थापाको भूमिकाप्रति पनि समीक्षा गरेका छन्।



कागजपत्र |
