
ड्रेसिङ रुममै ‘भेप’ तानेपछि रियान परागलाई जरिवाना
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत पञ्जाब किंग्सविरुद्धको खेलका क्रममा अनुशासन उल्लंघन गरेको आरोपमा राजस्थान रोयल्सका कप्तान रियान पराग कारबाहीमा परेका छन्।
ड्रेसिङ रुमभित्र ‘भेप’ (ई–सिग्रेट) प्रयोग गरिरहेको दृश्य क्यामेरामा कैद भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले उनलाई म्याच फीको २५ प्रतिशत जरिवाना गरेको हो।
मुल्लानपुरमा मंगलबार सम्पन्न खेलको दोस्रो इनिङ्सका क्रममा पराग ड्रेसिङ रुममा भेप प्रयोग गरिरहेको भिडियो सार्वजनिक भएको थियो। उक्त व्यवहारले खेलको मर्यादामा असर पारेको ठहर गर्दै बीसीसीआईले आईपीएल आचारसंहिताको धारा २.२१ अन्तर्गत ‘लेभल–१’ को कारबाही गरेको जनाएको छ। साथै उनको खातामा एक ‘डिमेरिट पोइन्ट’ पनि थपिएको छ।
परागले आफ्नो गल्ती स्वीकार गर्दै म्याच रेफ्री अमित शर्माले तोकेको सजाय मानिसकेका छन्। बीसीसीआईले विज्ञप्ति जारी गर्दै खेलको अनुशासन कायम राख्न यस विषयमा राजस्थान रोयल्स टोलीमाथि समेत थप अनुसन्धान भइरहेको जनाएको छ।
उल्लेखनीय छ, भारत सरकारले सन् २०१९ देखि ई–सिग्रेटको प्रयोग र बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित वस्तुको सार्वजनिक प्रयोग र खेल नियम उल्लंघनका कारण पराग सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा परेका छन्।



कागजपत्र |
