
२४ घण्टामा २७४६ चालक कारबाहीमा
काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा उपत्यकाभर सञ्चालन गरेको विशेष जाँच अभियानमा २ हजार ७४६ सवारी चालकलाई कारबाही गरेको छ।
प्रहरीका अनुसार विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन्। मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २२५, रातोबत्ती उल्लङ्घन गर्ने १७५ र तीव्र गतिमा सवारी चलाउने १४८ जना चालकलाई कारबाही गरिएको छ।
यस्तै, लेन मिच्ने ३२४, फुटपाथ प्रयोग गर्ने १४९, हर्न निषेध क्षेत्र उल्लङ्घन गर्ने ५५ तथा यात्रु ओराल्ने–चढाउने क्रममा नियम मिच्ने ५४ जना चालकसमेत कारबाहीमा परेका छन्। अन्य विभिन्न उल्लङ्घनका कारण १ हजार ५३७ जनामाथि कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।
उनका अनुसार उक्त कारबाहीबाट २९ लाख ६४ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएकाले यस्तो गतिविधि नगर्न सचेत गराएको छ। साथै, चालकले मापसे वा लागूपदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको १०० नम्बरमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।



कागजपत्र |
