
नमुना विद्यालयमै करोडको अनियमितता : प्रअ र लेखापालविरुद्ध मुद्दा
काठमाडौं- झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानि पुर्याई अनियमितता गरेको आरोपमा दुवैजनाविरुद्ध विशेष अदालत काठमाडौँमा अभियोगपत्र दर्ता गरेको हो।
आयोगका अनुसार प्रअ उपाध्याय र लेखापाल आचार्यबीचको मिलेमतोमा करिब एक करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको देखिएको छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी बिल भर्पाइ तयार पारेर उनीहरूले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएका थिए।
त्यसैगरी, विद्यालयको खातामा रहेको १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद हिनामिना गरिएको पाइएको छ।
यससँगै आर्थिक वर्ष २०७७/७८ देखि रहेको १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकमसमेत दुरुपयोग गरिएको आयोगले आरोप लगाएको छ।



कागजपत्र |
