पूर्वमन्त्री विक्रम पाण्डेलाई थप ८ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं – ई-बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष एवम पूर्वमन्त्री विक्रम पाण्डे थप ८ दिन हिरासतमा रहने भएका छन् ।

सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको घटनामा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ८ दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाउन स्वीकृति प्रदान गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई गत शुक्रबार नियन्त्रणमा लिएको थियो ।

निर्माण व्यवसायसमेत गर्दै आएका उनी कालीका कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (ई-बिडिङ) मा अनधिकृत पहुँच पुर्‍याई ठेक्का प्रक्रियासम्बन्धी विवरण हेरफेर गरिएको आरोप उठेको छ । आर्थिक प्रस्ताव खोलिनु अघि नै प्रस्ताव संशोधन गरेर ठेक्का प्राप्त गर्ने प्रयास भएको आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

यो प्रकरणमा हालसम्म १३ जनालाई पक्राउ गरिएको छ, जसमा ७ जना निर्माण व्यवसायी छन्। प्रहरीले संगठित अपराध अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई सहरी विकाश मन्त्री बनेका पाण्डेविरुद्ध यसअघि सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको थियो।

पाण्डे उक्त मुद्दामा ४ करोड रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया