सस्तो डलरको प्रलोभन देखाएर ३ लाख ठगी, युवक पक्राउ


काठमाडौं-  सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्दै आएका ३८ वर्षीय सञ्जयबहादुर तामाङ रहेका छन्। उनलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तामाङले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चिहानडाँडामा वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकी डलर साटिदिने भन्दै प्रलोभनमा पारेका थिए। त्यसपछि उनले पीडितबाट ३ लाख १० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए।

उक्त घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुरबाट खटिएको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका–४ महाराजगञ्जबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया