सुलभ अग्रवाललाई थुनामा राख्ने कारण पेस गर्न सर्वोच्चको आदेश


काठमाडाैं- सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राखिएको आधार र कारण पेस गर्न आदेश दिएको छ।

उनका पिता शंकरलाल अग्रवालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले यस्तो आदेश दिएको हो।

शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत २२ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानकै क्रममा उनका पिता शंकरलाल अग्रवाललाई पनि काठमाडौंबाट नियन्त्रणमा लिइएको भए पनि पछि उनी हाजिरी जमानीमा रिहा भइसकेका छन्।

इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा सुलभ अग्रवाल पक्राउ परेका हुन्।

करोडौं रुपैयाँ बराबरको शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे दुई वर्षअघि नै दुवै समूहबीचको वित्तीय कारोबारबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो।

प्रतिक्रिया