हिमानी अर्थात् ‘राजपरी’
टिकटकमा केही महिना अघि तन्नेरी छोरीहरूसँग नौलो अन्दाजमा देखिएकी हिमानीका लागि लाइकका बर्षा भए। असिनाजसरी झरे कमेन्ट। भिडिओ डाउनलोड र अपलोडको एउटा भाइरल शिलशिला भयो।
जसो गर जे गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो!
अथवा,
गुराँसको फेदमुनी सम्झनाको छायाँ जहाँ गए किन लाग्छ मलाई तिम्रो माया!
४५ बर्षको उमेर योगमा पनि हिमानीको सुन्दरताको निखारबारे चासो राख्ने धेरै छन्। यद्यपि त्यो सुन्दरताको कसीमा उनले गर्ने व्यवाहार, आनीबानी र शैली अबिछिन्न छन्।
हिमानीको मुस्कानमा नै त्यो दम छ जुन कुनै पनि राजनीतिक व्यक्तिको तिखो, मिठो, वा सत्य बोलीमा छैन । उनको अनुहारमा त्यो चमक छ र त आम नेपालीको कदरमा उनीअघि कुनै पनि अत्तरधारी अभिनेत्री फिक्का देखिन्छन्।
घृणित व्यवहारबीच हुर्किएका असल राजनीतिज्ञहरू पनि कठोर शासन व्यवस्थाभित्र हुर्किएको मुस्कानका अघि अश्वेत छन् । त्यसैले त हिमानीका हरेक अन्दाजहरू लेखनकौशल्य छन्, वर्णनसौम्य छन् ।
गरिबलाई छत, विद्यार्थीलाई स्कुल, न्यायका निम्ति चर्का भाषण होइन मैदानमा सेवाको व्यवाहारिकता देखाउन सक्ने साहसले पनि उनको सौन्दर्यलाई अझ चमक दिन्छ । त्यसैले त आलोचकहरू पनि उनलाई भन्छन्– हिमानी अर्थात् ‘राजपरी।’
यवुराज्ञीका रुपमा लामो समयसम्म आफूलाई अनुभवी बन्ने मौकाबाट समयले उनलाई लतारेको थियो। महारानी हुने त सवालै भएन। तैपनि त्यो स्थानमा आम मानिसले उभ्याईदिएकी उनका शव्द र औपचारिक भाषण अति न्युन सुनिन्छन्।
प्रचारमोह नभएकी, आफूलाई आधुनिकतासँगै राजपरिवारको कुलको मर्यादाक्रममा राखेकी हिमानी दिनदुखीका निम्ति चिन्तित हुन्छिन्। उनका बिरलै सुनिने आवाजहरू बेलामौका औपचारिकतामा देखिएका थिए। हिमानी ट्रष्टको कार्यक्रममा उनले भनेकी थिइन्–
सामाजिक कार्यमा आफूलाई समर्पित गर्दै आइरहेको यहाँहरूलाई जानकारी नै छ। बेलामौका हुने दैवीप्रकोपका क्रममा पूर्व औराहीका अग्नीपीडित हुन् या पश्चिम खारापानीका बाढीपीडित अथवा कैलाली, महेन्द्रनगर र सुर्खेतका स्थानीयले व्यहोरेको बाढीको प्रकोप होस् अथवा बारा पर्सासम्म हामीले सम्भव भएसम्म राहत वितरण गरेका छौं।
राजपरिवारभित्र पूर्वयुवराज पारस शाहको आनीबानीलाई झेल्दै, उनको समेत उद्दारका लागि थाइल्यान्डसम्म खटीएकी हिमानी एउटी कुशल आमाका रुपमा पनि सन्तानका लागि खटिइन्।
दुई छोरी पूर्णिका, कृतिका र एक छोरा हृदयेन्द्रको अभिभावकत्वमा सक्रिय देखिएकी उनी धार्मिक अनुष्ठानका निम्ति विभिन्न तिर्थस्थलमा आफूमात्र जाने गरिनन्, सन्तानलाई पनि संस्कारको बाटोमा हिँडाउने गर्छिन्।
कतिपय भन्छन्– राजपरिवारमा यत्तिको शालिन र सहनशील व्यक्तित्व निक्कै कम हुन्छन्। यो व्यक्तित्वलाई जीवन्त राख्ने कौशलता, व्यवाहार र धैर्यता निक्कै कममा मात्रै हुन्छ।
त्यसैले त उनका सन्तान पनि हिमानीलाई संसारकै अति सुन्दर र प्रिय जन्मदाताका रुपमा व्याख्या गर्छन्।
राजपरिवारको सदस्य हुनुका नाताले उनी कुटनीतिक सम्बन्धका दृष्टिकोणमा पनि निक्कै अब्बल रहेको निकटवर्तीहरू बताउँछन् । त्यसका प्रमाणहरू हुन् अनौपचारिक रुपमा नै भएका कतिपय विदेश भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समन्वय गरिदिनु।
थाइल्यान्ड, सिंगापुर, मलेसीया, श्रीलंका, माल्दिभ्स होस् या भारतका विभिन्न सहरमा हुने उच्च तहका भ्रमण त्यसमा हिमानीको समन्वयकारी भूमिका देखिँदै आएको छ।