अवकाशपछि पनि अनुशासित नागरिक बन्न पूर्वसैनिकलाई आग्रह


काठमाडौं- नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले सेनासम्बद्ध कल्याणकारी कार्यक्रमहरूलाई वितरणमुखीभन्दा आयमूलक र आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्। रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’मा बोल्दै उनले यस्ता कार्यक्रमहरूले दीर्घकालीन रूपमा सैनिक र तिनका परिवारलाई सक्षम बनाउनुपर्नेमा जोड दिए।

उनले सैनिकहरू सेवामा रहँदा मात्र नभई अवकाशपछि पनि अनुशासित, जिम्मेवार र मर्यादित नागरिकको रूपमा समाजमा प्रस्तुत हुनुपर्ने उल्लेख गरे। साथै, स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमशील गतिविधिमा संलग्न हुन उनले भूतपूर्व सैनिकहरूलाई आग्रह गरे।

रथी केसीका अनुसार नेपाली सेनाले राष्ट्रको एकीकरणदेखि हालसम्म सार्वभौमिकताको रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यी भूमिकाकै कारण सेना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो र सम्मानित संस्थाको रूपमा स्थापित भएको उनले बताए।

उनले वर्तमान र भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम, सुदृढ र प्रभावकारी सेनाको निर्माण गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको पनि उल्लेख गरे।

प्रतिक्रिया