सार्वजनिक लेखा समिति सभापतिमा भरत खड्का निर्विरोध निर्वाचित


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

खड्काको उम्मेदवारीमा सांसद मोहन आचार्य प्रस्तावक र जनकराज गिरी समर्थक रहेका थिए। संघीय संसद् सचिवालयले तोकेको समयसीमाभित्र उनको मात्रै उम्मेदवारी परेपछि शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। समितिका सदस्य सांसद योगेश गौचन थकालीले उक्त जानकारी दिएका छन्।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेसँगै खड्काको निर्वाचन सहज बनेको हो। समितिमा रास्वपाको बहुमत रहे पनि विपक्षी दलहरूको समर्थन कांग्रेसलाई रहेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्।

डोटीबाट प्रत्यक्ष निर्वाचित खड्का लामो राजनीतिक अनुभव भएका नेता हुन्। २०१४ सालमा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा जन्मिएका उनले २०३२ सालमा नेविसंघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए।

२०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा सक्रिय रहेका खड्का २०३९ सालमा २३ वर्षकै उमेरमा साबिक खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए। २०४४ सालमा डोटी जिल्ला पञ्चायतको सभापति बनेका उनी बहुदल स्थापना पछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

२०४९ सालमा जिल्ला विकास समिति डोटीको उपसभापति र २०५४ सालमा सभापतिमा निर्वाचित भएका खड्का २०६२/०६३ को जनआन्दोलनपछिको राजनीतिक परिवेशमा पनि सक्रिय रहे।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सदस्य बनेका खड्का २०७४ सालमा डोटी–१ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यस निर्वाचनमा उनले वाम गठबन्धनका उम्मेदवार चक्रबहादुर मल्ललाई ६१४ मतले पराजित गरेका थिए।

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका खड्कालाई सभापति गगन थापाले उम्मेदवार बनाएर डोटी पठाएका थिए। पछिल्लो निर्वाचनमा उनले १४ हजार ८९७ मत ल्याएर विजय हासिल गर्दा निकटतम प्रतिस्पर्धी एमालेका दीपक बहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका थिए।

प्रतिक्रिया