‘वैशाखको शुल्क नतिर्नु पर्ने’ हल्ला भ्रामक: निजी विद्यालय सञ्चालक


काठमाडौं-  निजी विद्यालय सञ्चालकहरूको चारवटा प्रमुख छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा ‘वैशाखको शुल्क तिर्नु पर्दैन’ वा ‘निःशुल्क हुन्छ’ भन्ने भ्रामक प्रचार भइरहेका बेला शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सञ्चालकहरूले यस्तो सूचना निराधार भएको बताएका हुन्।

प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अभिभावक तथा सरोकारवालालाई गलत सूचनाको भ्रममा नपर्न आग्रह गरिएको छ। विज्ञप्तिमा निजी विद्यालयहरू नेपाल सरकारबाट विधिवत् अनुमति प्राप्त गरी शिक्षा ऐन, नियमावली तथा स्थानीय तहका कानुनअनुसार सञ्चालन भइरहेको उल्लेख गरिएको छ।

सञ्चालकहरूका अनुसार विद्यालय शुल्क निर्धारण पनि प्रचलित कानुनअनुसार नै गरिन्छ। विद्यालयलाई एकपक्षीय र नकारात्मक रूपमा प्रस्तुत गर्दा विद्यार्थीहरूको मनोबल र सिकाइमा प्रतिकूल असर पर्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

शुल्क संरचनाबारे स्पष्ट पार्दै विज्ञप्तिमा भर्ना शुल्क (एक महिनाको पढाइ शुल्क बराबर), मासिक पढाइ शुल्क (१२ महिना) र वार्षिक शुल्क (दुई महिनाको पढाइ शुल्क बराबर) लाग्ने उल्लेख गरिएको छ। साथै भोजन, यातायात तथा विशेष प्रशिक्षणजस्ता अतिरिक्त सेवा लिएको खण्डमा छुट्टै शुल्क तिर्नुपर्ने जनाइएको छ।

निजी विद्यालयहरू सरकारी अनुदान वा दातृ निकायको सहयोगबिना सञ्चालन हुने भएकाले शिक्षक–कर्मचारीको तलब तथा भौतिक पूर्वाधारको व्यवस्थापन शुल्कबाटै धान्नुपर्ने बाध्यता रहेको सञ्चालकहरूको भनाइ छ।

‘वैशाख महिनाको शुल्क यथावत् रहनेछ, शुल्क नतिर्नु पर्ने भन्ने प्रचार पूर्णतः भ्रामक हो,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया