सशस्त्र प्रहरी कर्णाली प्रमुख डिआईजी खत्रीको महिनावारी बुझाउनुपर्ने उर्दी, कसले कति पठाउँछन्? 


काठमाडौं– सशस्त्र प्रहरी बल कर्णाली प्रदेश बाहिनीपति नायव महानिरिक्षक (डिआईजी) अभि खत्रीले माथाहतका गुल्म र गणलाई तोकेरै रकम बुझाउन उर्दी जारी गरेको खुलेको छ।

हालै मात्र डिआईजी भएका उनी प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा कार्यबाहक बाहिनीपतिका रुपमा सुर्खेत पुगेका थिए। बढुवापछि पनि उनको सोही बाहिनीमा पदस्थापन भएको थियो।

असोज महिनादेखि रकम उठाएर नपठाउने गणपति र गुल्मतिहरूविरुद्ध बेनामे उजुरी गर्न लगाई खत्रीले कारबाही समेत गर्दै आएको स्रोतले बताएको छ।

अनलाईन न्युजलाई पीडितबाट प्राप्त पत्रमा हुम्लाका गुल्मपति गेहेन्द्र भण्डारी, मुगुका खुम केसी, पश्चिम रुकुमका प्रेमसिंह धामी, डोल्पाका सन्तोषवीर सिंहले डिआईजी खत्रीलाई मासिक ५० हजार बुझाउन बाध्य भएका छन्।

यसैगरी सल्यानका सन्तोष रायमाझि, कालिकोटका रामबहादुर पाली बोगटी, जाजरकोटका नरेश भण्डारीले मासिक २० हजार बुझाउने गरेको स्रोतले दाबी गरेको छ। यस बाहेक जुम्लाका गणपति गगन श्रेष्ठ र सुर्खेतका गणपति दिग्विजय सुवेदीले मासिक ५० हजार बुझाउँछन्।

सुर्खेतका गणपित सुवेदीले शुरुमा मासिक बुझाउन नमानेपछि उनीविरुद्ध बेनामे उजुरी हालेर बाहिनीले छानबिन शुरु गरेपछि माघ महिनदेखि बुझाउन थालेको बताइन्छ।

सुवेदी सशस्त्र प्रहरी बल भित्रका विवादीत अधिकृत समेत हुन् । गत वर्ष बारामा रहँदा लकडाउनको समयमा सयौं भारतीय कामदारहरुलाई रकम उठाएर नेपाल छिराएपछि सुवेदी विवादमा तानिएका थिए जसका कारण उनी हेडक्वार्टर पठाइए।

आर्थिक रुपमा निकै कमजोर उनले भर्ना छनौटमा हुँदा कार्यालय सहयोगीकै लागि पनि रकम उठाएको बताइन्छ।

उता डिआईजी खत्री यसअघि पनि विभिन्न प्रकरणमा विवादमा तानिएका व्यक्ति हुन्। तत्कालिन सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) सिंहबहादुर श्रेष्ठको कार्यकालमा मुख्यालय हलचोकमा खत्री आर्थिक प्रशासन शाखामा रहँदा आगलागी भएको थियो।

उक्त आगलागी नियोजित रुपमा गराइएको भनी केही अधिकारी कारबाहीमा परेका थिए। खत्री त्यसैबेला पनि विवादमा तानिएका अधिकृत हुन्।

खत्रीविरुद्ध सशस्त्र हेडक्वार्टरमा पनि अनेक पटक उजुरी परेको बताइएको छ। हेडक्वार्टर स्रोतका अनुसार उजुरी शाखामा कस्ता प्रकारका आरोप लागेका छन् भन्ने विषयमा खोजबिन हुने जनाएको छ।

प्रतिक्रिया