
कांग्रेस कार्यसम्पादन समिति बैठक बुधबार
काठमाडौं- नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। बैठक बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकको मुख्य एजेन्डा वैशाख ४ गतेका लागि तय गरिएको संसदीय दलको नेता चयन प्रक्रियाबारे छलफल गर्ने रहेको छ। उक्त पदका लागि अर्जुननरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरीलगायत नेताहरू आकांक्षी देखिएका छन्। यस्तै, केही समूहले नयाँ पुस्ताबाट नेतृत्व आउनुपर्ने माग गर्दै निस्कल राईको नाम पनि अघि सारेका छन्।
संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने विषयमा शीर्ष नेताहरूबीच आन्तरिक छलफल जारी रहेको बताइएको छ।
यसका अतिरिक्त बैठकमा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यक्रम र ‘जरामा जाऔँ’ अभियानसम्बन्धी विषयमा पनि छलफल हुने छ। कांग्रेसले नयाँ वर्षको पहिलो दिनदेखि देशभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने तथा एक महिने ‘जरामा जाऔँ’ अभियान अघि बढाउने तयारी गरेको छ।
उक्त बैठकले संसदीय दलको नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक गतिविधिको आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
