
इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते
दाङ – दाङको तुलसीपुरमा इँट्टा भट्टाको पर्खाल भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टा भट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो। पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तिर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि उनलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको पहिचान आधार कार्डका आधारमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए।
उक्त घटनामा परी सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्। उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
