
विराटनगर विमानस्थलमा विमान दुर्घटनाको उद्धार अभ्यास
विराटनगर- विराटनगर विमानस्थलमा बुधबार बिहान विमान दुर्घटनाको काल्पनिक उद्धार अभ्यास गरिएको छ। नागरिक उड्डयन प्राधिकरणद्वारा आयोजना गरिएको उक्त ‘फुल स्केल एक्सरसाइज’ अन्तर्गत आपतकालीन अवस्थाको पूर्ण अभ्यास प्रदर्शन गरिएको हो।
अभ्यासअनुसार काठमाडौंबाट विराटनगरका लागि उडेको ‘एक्सरसाइज एयर’को फ्लाइट नम्बर ईए–००६ (कल साइन 9N–ZZZ) अवतरणका क्रममा समस्यामा परेको परिकल्पना गरिएको थियो। बिहान ७ः२० बजे उडेको उक्त विमान रनवेमा असामान्य सम्पर्क भएपछि ‘मिस्ड अप्रोच’ गरिएको र त्यसपछि प्राविधिक जाँच गर्दा देब्रेतर्फको ल्यान्डिङ गियरमा समस्या देखिएको दृश्य प्रस्तुत गरिएको थियो।
त्यसपछि पुनः अवतरण गर्ने क्रममा बिहान ८ः०५ बजे विमान आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको अवस्थाको नाटकीय प्रस्तुति गरिएको थियो। उक्त विमानमा ५५ जना सवार रहेको परिदृश्य तयार पारिएको थियो।
अभ्यासका क्रममा उद्धार टोली, एम्बुलेन्स र दमकल तत्काल परिचालन गरिएको थियो। साइरन बजाउँदै उद्धारकर्मीहरू रनवे क्षेत्रमा पुगेका थिए भने घाइतेको उद्धार, प्राथमिक उपचार तथा अस्पतालसम्म पुर्याउने सम्पूर्ण प्रक्रिया प्रदर्शन गरिएको थियो।
विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार अभ्यासमा पाँचजनाको मृत्यु, ६ जना गम्भीर घाइते र ३९ जना सामान्य घाइते भएको परिदृश्य तयार पारिएको थियो। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको र मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको दृश्यसमेत प्रस्तुत गरिएको थियो।
पूर्वसूचनाबिना गरिएको यस अभ्यासका कारण आसपासका स्थानीयवासी केही समयका लागि त्रसित भएका थिए।
विमानस्थल प्रशासनका अनुसार ‘फुल स्केल एक्सरसाइज’ प्रत्येक दुई वर्षमा र ‘पार्सियल एक्सरसाइज’ प्रत्येक एक वर्ष ६ महिनामा गर्ने व्यवस्था रहेको छ।



कागजपत्र |
