बाग्लुङ समाज बेल्जियमद्वारा चैते दशैं मेलाको आयोजना


बेल्जियम – बाग्लुङ समाज बेल्जियमले चैते दशैंको अवसरमा चैत्राष्टमी मेलाको आयोजना गरेको छ ।

बेल्जियमको लुभेन शहरमा सोमबार आयोजना गरेको उक्त मेलामा प्रमुख अतिथि तथा बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले बेल्जियममा सामाजिक संस्थाहरुले नेपालको प्राचिन परम्पराहरुलाई संरक्षण गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यहरुले बिदेशमा नेपालीहरुलाई जोड्ने अवसर प्रदान गर्ने बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एवम् संस्थाका संरक्षक गंगा शर्माले बाग्लुङ, धार्मिक, पौराणिक र प्राकृतिक रुपले निकै नै महत्वपूर्ण जिल्ला मानिने हुँदा त्यहाँको विकासका लागि प्रवासमा रहेका जिल्लावासीहरुले तन, मन र धनले सहयोग गरे जिल्लाको विकास द्रुतगतिमा अगाडी बढ्ने बताए ।

समाजका अध्यक्ष हरी रोकाको सभापतित्वमा भएको उक्त कार्यक्रम अध्यक्ष रोकाले नेपालको कला, संस्कृति, मौलिक चाँड तथा परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्न संस्थाले चैते दशै मेलाको आयोजना गरेको बताए ।

अध्यक्ष रोकाले समाजले चैते दशै कार्यक्रम प्रत्येक बर्ष मनाउने गरेको जानकारी दिदै यस्तो कार्यक्रमले एक आपसमा सामाजिक सद्भाव र एकतालाई मजबुत बनाउन थप सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा समाजद्वारा बाग्लुङमा संचालित मानव सेवा आश्रमको भवन निर्माणका लागि सहयोग गर्ने दाता, कलाकार तथा लोक दोहरी गायक रविन लामिछाने र गायिका डिला विकलाई सम्मान गरिएको थियो ।

उक्त मेलामा ससाना कलाकार भाईवहिनीहरुले वाल नृत्य, समूहगत नृत्य प्रस्तुत गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात् आयोजना गरिएको अर्को कार्यक्रममा आमन्त्रित कलाकारहरुले एकल तथा दोहोरी गीत प्रस्तुत गरेर दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा बेल्जियमस्थित विभिन्न सामाजिक संस्थाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया