
अवैध क्रसर बन्द गर्न गृहमन्त्रीको निर्देशन
काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले अवैध रूपमा सञ्चालनमा रहेका मापदण्ड विपरीतका सम्पूर्ण क्रसर बन्द गर्न निर्देशन दिएका छन्।
गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आज अनुगमन–निरीक्षणका क्रममा उनले गिट्टी–बालुवा उत्खनन गरेर बाढीपहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै चासो व्यक्त गरे।
‘पहिलेका राजनीतिक दलले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैधरुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गरे म कडाइका साथ रोक्छु, अन्य पनि वैध–अवैध तत्कालै छानबिन हुन्छ’, उनले भने।
मापदण्ड विपरीत अनुमति दिँदा बाढीपहिरो आएर जनधनको क्षति भएको उनको तर्क थियो। गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको भन्दै उनले गम्भीर चासो व्यक्त गरे।
प्राकृतिक स्रोतको दोहन हुँदा यसको रोकथाममा कसैले तदारुकता नदेखाएकामा उनले असन्तुष्टि जनाए। पनौतीको रोशीखोला क्षेत्रमा दर्जन क्रसर–खानी सञ्चालनमा रहेका छन्।
गत वर्षको असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको सूचीमा रहेका छन्।
नगरको विवरणअनुसार बाढीपहिरोले ५८६ घर पूर्ण रुपमा भएका थिए भने ९४४ वटा घर उच्च जोखिममा रहेको छ।



कागजपत्र |
