
पोखरामा ट्रान्स–पार्टीमा छापा, ३ विदेशीसहित १२ पक्राउ
पोखरा- कास्की प्रहरीले पोखरामा सञ्चालन भइरहेको ‘ट्रान्स–पार्टी’मा छापा मार्दै ३ विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरेको छ । पोखरा–१८ मेथलाङस्थित एक घर भाडामा लिएर लागूऔषध सेवन तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार कृष्ण पराजुलीको घरमा पार्टी सञ्चालन गरिएको थियो । उक्त पार्टीको आयोजना भारतीय नागरिक अनुभव शर्मा र नेपाली नागरिक बमेन्द्र पुनले गरेका थिए । पुनले सो घर भाडामा लिएर पार्टी सञ्चालन गरिएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत मंगलबार बिहान करिब १ः३० बजे विशेष सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा लागूऔषध सेवन तथा कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको र साथबाट विभिन्न प्रकारका लागूऔषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक सृष्टि चन्द र अनुभव शर्मा, ब्राजिलियन नागरिक चाल्र्स गुवाइवा रहेका छन् । यस्तै नेपाली नागरिकहरूमा पोखरा–६ का विशाल परियार, पोखरा–५ का आशिष दर्जी, सोही वडाका बमेन्द्र पुन, दाङका सौरभ महरा, काठमाडौका निकुञ्ज कार्की, सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार र सौरभ भन्ने लोकबहादुर घर्ती मगर रहेका छन् । पक्राउ परेकाहरूको उमेर २५ देखि ४८ वर्षसम्म रहेको प्रहरीले जनाएको छ ।
बरामद भएका लागूऔषधको संख्या ९ प्रकार रहेको जनाइएको छ । सूचना अधिकारी बस्नेतका अनुसार बरामद लागूऔषधमा एमडीएमए, चरेस, कोकिन, खात, आइसीई, पोल्यान्ड, म्याजिक मसरुम, एलएसडी (ठोस र तरल) रहेका छन् ।
प्रहरीका अनुसार ट्रान्स–पार्टीमा कुल ३८ जना सहभागी भए पनि १२ जनालाई मात्र मुद्दा दायर गरिएको हो । तीमध्ये ८ जनालाई लागूऔषध सम्बन्धी कसुरमा र ४ जनालाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । बाँकी २६ जनालाई भने आवश्यक सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।
सो पार्टी सोमबारदेखि सुरु भई कम्तीमा ७२ घण्टासम्म सञ्चालन हुने योजना रहेको खुलेको छ ।



कागजपत्र |
