अनुसन्धान अधिकारी बनेर अपहरण गरेको आरोपमा एक जना पक्राउ


भक्तपुर – आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी बताउँदै एक व्यक्तिलाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–३ घर भएका ५३ वर्षीय दीपक खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौँ महानगरपालिका–८ गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गत माघ २८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ४७ वर्षीय पूर्णबहादुर थापाको घरमा पुगेका खड्काले आफू ‘अनुसन्धान विभागको प्रहरी’ भएको भन्दै परिचय दिएका थिए। त्यसपछि उनले थापालाई होटलमा लगेर डर, धाक र धम्की देखाउँदै बन्धक बनाएको अनुसन्धानबाट खुलेको छ।

फरार रहेका खड्कालाई खोजतलास गर्ने क्रममा गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार खड्कामाथि ‘अपहरण तथा शरीर बन्धक’ कसुरमा मुद्दा दर्ता गरिएको छ। हाल उनीमाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया