चोरीको मोटरसाइकलसहित सुन्दरीजलबाट एकजना पक्राउ


काठमाडौं – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १ सुन्दरीजलबाट बिहीबार चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ घर भई हाल काठमाडौँको सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२ प २५६७ रहेको उक्त मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सुन्दरीजल सडकखण्डमा फेला पारी सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल काठमाडौँको जोरपाटीबाट हराएको भनी काठमाडौँ महानगरपालिका ६ बस्ने राजु लामाले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

मोटरसाइकल सहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले आग्रह गरे ।

प्रतिक्रिया