
डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत रूपमा अर्याललाई सभामुखका रूपमा अघि सार्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुखका रूपमा अघि बढाउने निर्णय गरेको हो । पार्टीका स्थापनाकालदेखि उपसभापति रहेका अर्याललाई संसद सञ्चालनको ऐतिहासिक जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।
पार्टीभित्र समन्वयकारी भूमिकामा देखिँदै आएका अर्याल यसअघि गृहमन्त्रीको दाबेदार मानिएका थिए । नेताहरूका अनुसार बालेन्द्र शाह नेतृत्वको सरकारमा उनलाई सभामुखका रूपमा अघि बढाउने विषयमा आन्तरिक सल्लाह भएको थियो ।
हाल संसदमा रास्वपासँग १८२ सिट रहेको छ, जुन दुई तिहाई बहुमतभन्दा दुई सिट कम हो । सभामुख सत्तापक्षको हुने प्रचलन भए पनि सामान्यतया उपसभामुख फरक लिङ्ग र प्रतिपक्षबाट हुनुपर्ने व्यवस्था छ, जसका कारण उपसभामुख चयनबारे भने अझै टुंगो लागिसकेको छैन । फरक दल नरहेको अवस्थामा भने सोही दलको फरक लिंगीलाइ उपसभामुख बन्ने प्रावधान रहेको छ । तर अहिलेको नेपालको अवस्थामा फरक दलको उपसभामुख बन्ने सम्भावना कायम रहेको छ ।



कागजपत्र |
