
सभामुख निर्वाचन चैत २२ मा
काठमाडौं- संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने तयारी गरिएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय तोकेपछि सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिएको सचिवालयले जनाएको छ । जारी सूचनामा सभामुख निर्वाचनको कार्यक्रम औपचारिक रूपमा प्रकाशन गरिएको उल्लेख छ ।
कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारी दर्ता हुनेछ । सभामुख पदका लागि कुनै सदस्यलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । त्यसपछि दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ ।
एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गते नै निर्वाचन प्रक्रिया अघि बढाइनेछ । उक्त दिन बैठक प्रारम्भ भएपछि प्रस्तावकले प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गर्ने कार्य हुनेछ । उम्मेदवारीमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।
वर्तमान संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग करिब दुई तिहाइ (१८२) सांसद रहेको अवस्थामा सोही पार्टीले उपसभापति डीपी अर्याललाई सभामुखका उम्मेदवार बनाउने निर्णय गरेको छ ।



कागजपत्र |
