संसद्मा गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस


काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश प्रस्तुत गरेका छन् ।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राखेपछि नियमित कार्यसूचीअनुसार गृहमन्त्री गुरुङले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।

संविधानको धारा ८४ को उपधारा (२) अनुसार समानुपातिकतर्फ बन्द सूचीमा समावेश गरिने जनसङ्ख्याको आरक्षण व्यवस्थासम्बन्धी कानुन संशोधन अध्यादेशमार्फत गरिएको उल्लेख गरिएको छ । साथै, गत फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्न अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाई गृह मन्त्रालयअन्तर्गत ल्याउन ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी गरिएको जानकारी पनि दिए ।

बैठकमा संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहरा सहित संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय र होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया