
पोखरामा ट्रान्स पार्टी गर्ने विदेशीसिहत ३८ जना पक्राउ
पोखरा- पोखरामा विदेशी नागरिकसँग मिलेर ट्रान्स पार्टी भइरहेको अवस्थामा प्रहरीले छापा मारी ३८ जनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथिको जंगल नजिकको एकान्त घरमा मंगलबार राति प्रहरीले छापा मारेको हो।
लागुऔषध प्रयोग तथा बिक्री भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराईको नेतृत्वमा पुगेको टोलीले उक्त कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए।
उनका अनुसार नियन्त्रणमा लिएकामध्ये आठ जनाबाट लागुऔषध फेला परेको छ। लागुऔषधसहित पक्राउ पर्नेमा एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन्। उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अन्य नियन्त्रणमा लिइएकाहरूको हकमा भने आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिन वर्गको पदार्थ), गाँजा, ‘म्याजिक मशरूम’ तथा एलएसडीसहित नौ प्रकारका लागुऔषध बरामद गरिएको छ।
उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्स पार्टी आयोजना गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
